काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुस्थित बायुवास ओभलमा नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७२ रन बनाउन सक्यो । नेपालले दिएको मध्यम लक्ष्यसहित थाइल्याण्डले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरे । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रन्को योगदान दिए । यस्तै शरद भेषवाकरले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३० रन जोडे ।
नेपालको उच्च स्कोरमा ओपनर अनिल कुमार साहले २५ र बिनोद भण्डारीले १५ रन जोडे । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।
थाइल्याण्डका लागि पयुपुथ सुनग्नार्डले ४ तथा भिचानाथ सिंहले २ विकेट लिए ।
नेपाल आज थाइल्याण्डलाई हराएर तेस्रो जितको खोजीमा हुनेछ । थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।