काठमाडौं । आईसीसी विश्व टी ट्वान्टी एसिया छनोट समुह बी अन्तर्गत थाईल्याण्डविरुद्धको तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
क्वालालम्पुस्थित बायुवास ओभलमा नेपालले थाइल्याण्डविरुद्ध १ सय रन पुरा गरेको छ । तर, नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिहं ऐरीलाई ३० रनमा गुमाएको हो ।
तेस्रो विकेट गुमाएपनि नेपालले १३ ओभर २ बलमा १ सय रन पुरा गरेको छ । क्रिजमा शरद ३२ रन बनाएर खेलिरहेको छ । उनलाई आरिफ शेखले साथ दिईरहेको छ ।
नेपालले यसअघि दोस्रो विकेटको रुपमा ओपनर अनिल साहलाई २५ रनमा गुमाएको थियो भने पहिलो विकेटको रुपमा नेपालले ओपनर बिनोद भण्डारीलाई १५ रनमा गुमाएको हो ।
नेपाल आज थाइल्याण्डलाई हराएर तेस्रो जितको खोजीमा हुनेछ । थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।