काठमाडौं । आईसीसी विश्व टी ट्वान्टी एसिया छनोट समुह बी अन्तर्गत थाईल्याण्डविरुद्धको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । क्वालालम्पुस्थित बायुवास ओभलमा नेपालले अहिले केही बेरमा ब्याटिङ थाल्दैछ ।
थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।
नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।