काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज (आइतबार) बलियो टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल बेलुका नेपाली समय अनुसार ६:४५ मा सुरु हुनेछ ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३ - १ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४ - ० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य उपाधि हुनेछ । तर, नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्न कठिन हुने देखिन्छ । किनकी एकै समूहमा रहेको नेपाल बंगलादेशसंग समूह चरणमा पराजित भईसकेको छ ।
समूह 'बि' मा रहेको नेपाल समूह चरणमा बंगलादेशसंग २ - १ ले पराजित भएको थियो । तर, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
नेपाल आज बंगलादेशसंग समूह चरणमा बेहोरेको हारको बदला समेत लिन चाहन्छ । भारतलाई हराएपछि नेपाल उच्च मनोबलमा समेत रहेको छ ।
'हामीले भारतलाई हराएर फाइनलमा पुगेका छौं । त्यसैले टिमको उच्च मनोबल छ,' नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने,'बंगलादेश कठिन टिम हो । हामीलाई उनीहरुले हराईसकेको छ । तर, हामी उच्च मनोबल लिएर खेल्नेछौं । हामीले नेपालबाटै उपाधि जित्ने बताउदै आएका छौं ।'
यता, उमेर समूहको महिला फुटबलमा निकै उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेश नेपाललाई दोस्रो पटक हराएर उपाधि जित्न चाहन्छ ।