एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता युभेन्ट्सले लगातार आठौं जित निकालेको छ । शनिबार उडिनेसलाई २ - ० ले हराएर युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।
उडिनेसको मैदानमा भएको खेलमा युभेन्ट्सका लागि रोड्रीगो बेनटानकुर र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ३३ औं मिनेटमा रोड्रीगोको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३७ औं मिनेटमा क्रिस्टियानोले गोल गर्दै युभेन्ट्सलाई २ - ० को अग्रता दिलाए । च्याम्पियन्स लिगमा एक खेलको प्रतिबन्ध र बलात्कार आरोपमा मुछिएपछि पहिलोपटक मैदान उत्रिएका क्रिस्टियानोले गोल गरेका हुन् ।
क्रिस्टियानो अहिले अमेरिकामा एक महिला बलात्कारको विवादमा फसेका छन् । ३४ बर्षिया रोनाल्डोमाथि अमेरिकी महिलालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । यस बिषयमा विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।
पहिलो हाफमा २ - ० ले अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप गोल गर्न सकेन । र, खेल युभेन्ट्सले २ - ० ले आफ्नो बनायो ।
जितसंगै युभेन्ट्सले ८ खेलबाट २४ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ । पराजित उडिनेस ८ खेलबाट ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा रोमाले इम्पोलीलाई २ - ० ले पराजित गरेको छ । यस्तै काग्लियारीले बोलोग्नालाई २ - ० ले नै हराएको छ ।