काठमाडौं । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत तेस्रो खेलमा नेपालले आज (आइतबार) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसंग खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ मा सुरु हुनेछ । र,थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल तेस्रो जितको खोजीमा हुनेछ ।
थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।
नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।