काठमाडौं । तेस्रो संस्करणको 'निष्ट लिटल फ्लावर प्रिमियर लिग' विद्यालय स्तरीय राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता कार्तिक अन्तिम साताबाट धनगढीमा आयोजना हुने भएको छ ।
आयोजक संस्कार क्रिकेट एकेडमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक २७ गतेबाट मंसिर ४ सम्म आयोजना हुने जानकारी गराएको हो ।
संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १२ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका सहभागी टोलीले १९ वर्षमुनिका पाँच बाहिरका खेलाडी राख्न पाउनेछन् ।
लैनचोरस्थित निष्ट कलेजको मुख्य प्रायोजन र लिटल फ्लावर बोर्डीङ स्कुलको सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछन् । यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार प्राप्त गर्नेछन् ।
यस्तै लिग चरणको म्यान अफ दि म्याचले १ हजार, नकआउटका म्यान अफ दि म्याचले १ हजार ५ सय र फाइनलमा म्यान अफ दि म्याच हुनेले २ हजार नगद पाउने संस्कार एकेडमीका अध्यक्ष राम चन्द्र शाहीले जानकारी गराए । यसपटक पुरस्कार राशिमा अघिल्लो संकरण भन्दा दोब्बर बढी बढाईएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा लिटल फ्लावर स्कुल, सिदार्थ शिसु सदन स्कुल,शारदा माबि, सरस्वती माबि, क्यास्पियन एकेडमी,एविसी बोर्डिङ स्कुल, कैलाली मोडेल सेकेण्डरी स्कुल, विज्डम एकेडमी, लिटल बुद्ध एकेडमी,हिमालय हवाईट हाउस वर्ल्ड स्कुल, निष्ट स्कुल र मोक्षदा स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा बोल्दै प्रायोजक निष्ट कलेजका अध्यक्ष डा माधव प्रसाद बरालले क्रिकेटले नेपाली खेलजगतमा उच्च प्रदर्शन गरिरहेको कारण क्रिकेट विकासमा टेवा दिन सहयोग गरेको बताए ।