काठमाडौं । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत घरेलु टोलीविरुद्धको खेलमा नेपालका युवा बलर सन्दीप लामिछाने 'प्लेयर अफ दि म्याच' बनेका छन् ।
सन्दीप लगातार दोस्रो खेलमा प्लेयर अफ दि म्याच चुनिएका हुन् । यसअघि म्यानमारविरुद्धको खेलमा पनि सन्दीप प्लेयर अफ दि म्याच बनेका थिए ।
मलेसियालाई ८ विकेटले हराउने क्रममा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । लेग स्पिनर सन्दीप एक्लैले ५ विकेट लिएपछि मलेसिया १ सय रनमा अलआउट भएको थियो ।
४ ओभर बलिङ गरेका सन्दीपले मात्र २० रन खर्चिएका थिए । सन्दीपले मलेसियाका ओपनर सएद अजिजलाई १३ रनको अवस्थामा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराएका थिए ।
सन्दीपले दोस्रो विकेटको रुपमा मलेसियाका सर्वाधिक रन बनाउने साफिक सारिफलाई ४९ रनमा सोमपाल कामीको हातबाट क्याच गराए ।
यस्तै सन्दीपले तेस्रो विकेटको रुपमा सुहान अलगरत्नामलाई ५ रनको स्थितिमा बोल्ड गरेका थिए । उनले चौथो र पाचौँ विकेटको रुपमा भिरन्दिप सिंह र स्यज्रुल इद्रुसलाई शुन्य रनको अवस्थामा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।
सन्दीपले म्यानमारविरुद्ध ४ विकेट लिएका थिए । सन्दीपले जारी प्रतियोगिताको २ खेलमा ९ विकेट लिईसकेका छन् ।