काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत आयोजक मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपालले दोस्रो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई १२ रनमा गुमाएको हो । विनोद पवनदिप सिंहको बलमा आउट भए । यसअघि नेपालले अनिल कुमार साहलाई १ रनमा गुमाएको थियो ।
अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । पारस १९ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३६ रन जोडेको छ ।
यससघी टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो । नेपालका युवा बलर सन्दीप लामिछाने चम्किएपछि मलेसिया सस्तैमा समेटिएको थियो । मलेसियाका लागि सफिक सरिफले ४९ रन जोड्दा सायद अजिजले १३ रन जोडे । अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्काले एक विकेट लिए ।
पहिलो खेलमा म्यानमारलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासंग खेलिरहेको हो । बुधबार भएको खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।