काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गतको दोस्रो खेलमा आयोजक मलेसियाले नेपाललाई जितका लागि १०१ रनको सामान्य लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै १०० रन बनाउन सक्यो । मलेसियाले दिएको १०१ रनको लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
नेपालका युवा बलर सन्दीप लामिछाने चम्किएपछि मलेसिया सस्तैमा समेटिएको हो । मलेसियाका लागि सफिक सरिफले ४९ रन जोड्दा सायद अजिजले १३ रन जोडे । अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्काले एक विकेट लिए ।
पहिलो खेलमा म्यानमारलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासंग खेलिरहेको हो । बुधबार भएको खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।
आज नेपाल मलेसियालाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
नेपालले सन् २०१३ पछि पहिलोपटक मलेसियासंग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीयमा भने नेपालले गत महिना मलेसियासंग खेलेको थियो ।
टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ । एक खेल मलेसियाले जितेको छ ।