काठमाडौं । आईसीसी विश्व ट्वान्टी ट्वान्टी क्रिकेट एसिया छनोट समुह बी अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने फेरी चम्किएका छन् ।
अघिल्लो खेलमा म्यानमारविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका सन्दिपले दोस्रो खेलमा समेत सोही फर्मलाई निरन्तरता दिएका छन् ।
मलेसियाको वायुमास ओभलमा घरेलु टोलीले टस जितेर ब्याटिङमा उत्रिएपछि नेपालले बलिङको निम्तो पाएको थियो ।
सुरुवाती ब्याटिङ गर्ने मलेसियाको निर्णयलाई सन्दिपले दबाबमा राखेका छन् । ३६ रन बनाउन मलेसियाले २ विकेट गुमाएको छ । दुवै विकेट सन्दिपले लिएका छन् ।
ओपनर सईद अजिजलाई बिनोद भण्डारीबाट क्याच गराएका उनले सुहान अलागरत्नमलाई बोल्ड गरेका छन् ।
सुरुवाती दुई ओभर बलिङ गर्दा उनले १० रन खर्चेर दुई विकेट लिएका छन् ।
नेपालले सन् २०१३ पछि पहिलोपटक मलेसियासंग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीयमा भने नेपालले गत महिना मलेसियासंग खेलेको थियो ।
टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ । एक खेल मलेसियाले जितेको छ ।