काठमाडौं । साबिकको विजेता नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा आज (शनिबार) बलियो टोली प्यालेस्टाइनसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ । र, पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा हुनेछ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
समूह ’ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन । यता, प्यालेस्टाइन र ताजकिस्तानले ३ - ३ अंक जोडेको छ । प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ ।
तर, प्यालेस्टाइनविरुद्ध जित निकाल्न नेपाललाई फलामको च्युरा चपाउनु सरह हुनेछ । किनकी प्यालेस्टाइनविरुद्ध नेपालका तीन मुख्य खेलाडी घाइते छन् । उनीहरु मैदान उत्रने तय भएको छैन । तीन मुख्य डिफेन्डर विराज महर्जन, आदित्य चुधारी र अनन्त तामाङको उपस्थिति अन्योलमा छ ।
पछिल्लो समय नेपालले गत अक्टोबरमा प्यालेस्टाइनसंग खेलेको थियो । एएफसी एसियन कप अन्तर्गतको खेलमा नेपालले प्यालेस्टाइनलाई गोलरहित बराबरीमा रोकेको थियो ।