एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो इनिङसमा भारतले फराकिलो योगफल तयार गरेको छ ।
टेष्टको दोस्रो दिन शुक्रबार भारतले ९ विकेटको क्षतिमा ६४९ रन जोड्दै इनिङस समाप्तिको घोषणा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान विराट कोहली, रविन्द्र जडेजा र पृथ्वी शको शतकीय इनिङसमा उच्च योगफल तयार गरेको हो ।
पहिलो दिन बिहिबार टेष्ट क्रिकेटमा डेब्यु गरेका ओपनर पृथ्वी शको शतकसंगै उच्च योगफलतर्फ लम्किएको भारतका लागि शुक्रबार कप्तान कोहली र जडेजाले शतकीय इनिङ खेले ।
राजकोटमा शले १३४ रनको योगदान गरेपछि पहिलो दिनको समाप्तिमा भारतले ८९ ओभरमा ४ विकेट गुमाएर ३६४ रन जोडेको थियो । यस्तै दोस्रो दिन कोहलीले १३९ रनको शतकीय इनिङस खेल्दा जडेजाले अविजित १०० रन बनाए । कोहलीको यो २४ औं शतक हो ।
त्यस्तै भारतका रिशाब पन्तले ९२ तथा चेतेश्वर पुजाराले ८६ रनको अर्धशतकीय इनिङस खेले । वेष्ट इण्डिजका देभेन्द्र विश्वले तीन विकेट लिए ।
भारतले पहिलो इनिङस समाप्तिको घोषणापछि आफ्नो पहिलो इनिङस थालेको वेष्ट इण्डिजले भने निकै खराब प्रदर्शन गरेको छ ।
दोस्रो दिनको समाप्तिसम्म वेष्ट इण्डिजले २९ ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सकेको छ । भारतविरुद्ध वेष्ट इण्डिज फलोअनमा पर्ने सम्भावना बढेको छ । भारतीय बलर चम्कदा वेष्ट इण्डिजका सुरुवाती ब्याट्सम्यानहरु सस्तैमा पेभेलियन फर्किए ।
वेष्ट इण्डिजका रोस्टोन चासे २७ तथा किमो पाउल १३ रनमा अविजित छन् । भारतका मोहमद शामीले २ विकेट हात पारे ।
भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टोलीविरुद्ध दुई खेलको टेष्ट सिरिज र पाँच एकदिवसीय सिरिज खेल्ने छ । यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।