एजेन्सी । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्होले पछिल्ला पाँच खेलमा जित विहिन हुनु आफ्नालागि पर्याप्त नभएको बताएका छन् । खराब सिजनका कारण प्रशिक्षक माउरिन्हो यति बेला दबाबमा छन् । उनको नेतृत्वमा म्यान युले २९ बर्षयताकै खराब सुरुवात गरेको छ ।
सिजनको सुरुवातबाटै म्यान युले घरेलु मैदान ओल्डट्राफोर्डमा जित निकाल्न सकेको छैन ।
‘हामी अझ राम्रो गर्न सक्छौ । त्यसकालागि हामीलाई अंक आवश्यक छ । हामीले पछिल्लो दुई खेलमा अंक गुमाएका छौ ।’ शनिबार घरेलु मैदानमा न्युक्यासल उत्रनुअघि माउरिन्होले भने ।
गत मंगलबार म्यान युले च्याम्पियन्स लिग फुटबलमा भ्यालेन्सियाविरुद्ध गोल रहित बराबरी खेलेको थियो । प्रिमियर लिगमा वेष्ट हमसंग पराजित भएको म्यान यु त्यसअगाडी काराबाओ कपमा पेनाल्टी सुटआउटमा च्याम्पियनसिप क्लब डर्बीसंग पराजित भएको थियो ।
घरेलु मैदानमा पहिलो खेलमा उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको म्यान युले टोटेनहमसंग हार ब्यहोरेको थियो । ‘पुरै सिजन घरेलु मैदानमा मात्र एक हार, मात्र एक हार पछिल्लो ७ खेलमा ।’ माउरिन्हाले भने ।
‘तर पछिल्ला तीन खेलमा घरेलु मैदानमा जित्न सकिएको छैन । तीन बराबरी र हारको कुनै अनुभव छैन । तर जितको कुनै उत्साह समेत छैन ।’ उनले थपे, ‘त्यसैले हाम्रोलागि आगामी शनिबारको खेल जित्न महत्वपुर्ण छ ।’
म्यान यु प्रिमियर लिगको १० औ स्थानमा छ । र सात खेल सकिदाँ मात्र १० अंक जोडेको छ ।