काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुदैछ । पहिलो खेलमा पश्चिमाञ्चल फुटबल क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा र रुस्लान थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ ।
समुह डी अन्र्तगतको पहिलो खेलमा भिड्न लागेका पश्चिमाञ्चल र मनाङ दुवै टोली ‘गर वा मर’को अवस्थामा छन् । समुह चरणका दुवै खेलमा जित विहिन पश्चिमाञ्चललाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ । उसले पहिलो खेलमा फ्रेन्ड्स हार ब्यहोरेको थियो भने दोस्रो खेलमा थ्रीस्टारसंग बराबरी खेल्दै अंक बाँडेको थियो । पहिलो खेलमा थीस्टारसंग पराजित भएपछि मनाङ पहिलो पटक मोफसलको टोलीविरुद्ध उत्रदै छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा जित विहिन हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ । समुह चरणको पहिलो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्ससँग गोल रहित बराबरी खेलेको थियो । तर थ्रीस्टारले पहिलो खेलमा मनाङलाई स्तब्ध पारेको थियो ।
समुह चरणको दोस्रो खेलमा भने थ्रीस्टारले पश्चिमाञ्चलसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । सोही कारण नकआउट चरण प्रवेशको सम्भावना सहज बनाउन दुवै टोलीको लक्ष्य महत्वपुर्ण तीन अंक जोड्नुमा हुनेछ ।