काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज (शुक्रबार) उपाधि दाबेदार टिम भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह विजेता भारतसंग खेल्न लागेको हो । समूह 'बि' मा रहेको नेपाल मंगलबार बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । भारत भने समूह 'ए' को विजेता बनेको थियो ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:१५ मा हुनेछ । शुक्रबार नै हुने अर्को सेमिफाइनलमा बंगलादेश र भुटानले साँझ प्रतिस्पर्धा गर्नेछन् ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल भारतलाई हराएर फाइनल पुग्न चाहन्छ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । किनकि भारत प्रतियोगिताकै उपाधि दाबेदार टिम हो ।
यस्तै नेपाललाई पनि उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ । र, नेपालविरुद्ध मैदान उत्रदा भारत केहि सतर्क हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्नै नै रहेको बताउदै आएका छन् ।