एजेन्सी । टेष्ट क्रिकेटमा डेब्यु गरेका ओपनर पृथ्वी शले शतकीय इनिङ खेलेपछि भारतले वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन बिहिबार उच्च योगफल तयार गरेको छ ।
राजकोटमा शले १३४ रनको योगदान गरेपछि पहिलो दिनको समाप्तिमा भारतले ८९ ओभरमा ४ विकेट गुमाएर ३६४ रन जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि १८ बर्षीय शले १५४ बलमा १९ चौका प्रहार गरे । श डेब्यु खेलमा शतक बनाउने तेस्रो खेलाडी समेत बनेका छन् ।
यस्तै चेतेश्वर पुजाराले ८६ रनको अर्धशतकीय इनिङस खेल्दा अजिन्का रहानेले ४१ रन जोडे । भारतका कप्तान विराट कोहली ७२ रनमा अविजित रहदा रिशाब पन्त १७ रनमा अविजित छन् ।
वेष्ट इण्डिजका सनोन गब्रिल, किमो पाउल र देभेन्द्र विश्वले एक एक विकेट लिए ।
भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टोलीविरुद्ध दुई खेलको टेष्ट सिरिज र पाँच एकदिवसीय सिरिज खेल्ने छ । यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।