काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत मलेसियाविरुद्ध हुने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
मलेसियामा जारी छनोटको पहिलो खेलमा म्यानमारविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) संग कुरा गर्दै आयोजकविरुद्ध राम्रो प्रदर्शन गर्ने बताएका हुन् । छनोटको दोस्रो खेलमा नेपालले शनिबार मलेसियाविरुद्ध खेल्नेछ ।
सन्दीपले भनेका छन् , 'हामीले उत्कृष्ट खेल्यौ र पहिलो खेलमा राम्रो नतिजा निकाल्न सफल भयौं । अर्को (मलेसिया) खेलमा अझ राम्रो गर्नेछौं ।'
युवा बलर सन्दीप बुधबार म्यानमारविरुद्धको खेलमा 'म्यान अफ दि म्याच' समेत चुनिएका थिए । पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।
म्यानमारलाई पराजित गर्दा सन्दीपले ४ विकेट लिएका थिए । सन्दीपले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ३ रन खर्चिएर ४ विकेट लिएका थिए ।
यस्तै सन्दीपले मलेसियाविरुद्धको खेलमा आफ्नो बलिङ प्रदर्शनमा थप सुधार गर्ने बताए ।
'मैले सबै कुरा सामान्य रुपमै गर्न खोजेको हुन्छु र मलाई विश्वास छ मैले मेरो बलियो स्थानमा बल फ्याले भने विपक्षीलाई खेल्न कठिन हुनेछ,' सन्दीपले थपे ।