काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेट मंसिर २२ देखि सुरु हुने भएको छ । मंसिरको चौथो साता सुरु हुने प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन गरिनेछ ।
राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ । यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहने छ ।
यस पटक आयोजकले दिनको एक खेलमात्र खेलाउने निर्णय लिएको छ । प्रतियोगितामा दर्शकको आगमनलाई लक्षित गर्दै आयोजकले दिनको एक खेलमात्र खेलाउने तयारी गरेको हो ।
अघिल्ला संस्करणमा दिनमा दुई खेल हुदै आएका थिए । तेस्रो संस्करणको प्रतियोगितामा समेत मुख्य प्रायोजक टिभिएस अपाचे बाइक हुने छ । प्रतियोगिताको साविक विजेता पारस खड्का नेतृत्वको विराटनगर वारियर्स रहेको थियो ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिताको बजेट बढेको जानकारी दिदै अनुमतिका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई पत्र पठाईएको जानकारी दिए ।