एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले सहज जित निकालेका छन् ।
समूह 'ए' मा रहेका एट्लेटिकोले बुधबार राति क्लब ब्रुगलाई ३ - १ ले पराजित गर्यो । एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यानले दुई गोल गर्दा कोकेले एक गोल गरे । ब्रुगका अर्नोट ग्रोनेभेल्डले एक गोल फर्काए ।
जितसंगै एट्लेटिको २ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । डर्टमण्डसंग अंक बराबर भएपनि गोल अन्तरमा एट्लेटिको पछि रहेको हो ।
डर्टमण्डले बुधबार राति फ्रेन्च क्लब मोनाकोलाई ३ - ० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । डर्टमण्डलाई जित दिलाउन ज्याकोब लार्सेन, फ्रान्ससिस्को र मार्को रिउसले एक एक गोल गरे ।
जितसंगै डर्टमण्ड ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । यस समूहमा मोनाको र क्लब ब्रुगले अंक जोड्न सकेका छैनन् ।
च्याम्पियन्स लिग अन्तर्गत नै बुधबार राति समूह 'डी' मा शाल्केले लोकोमोतिभ मस्कोलाई १ - ० ले हराएको छ । अर्को खेलमा पोर्टोले गालातासारेलाई १ - ० ले नै हराएको छ ।