काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह 'बी' मा नेपालले विजयी सुरुवात गर्दा युवा बलर सन्दीप लामिछाने 'म्यान अफ दि म्याच' चुनिएका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा बुधबार भएको पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।
म्यानमारलाई पराजित गर्दा सन्दीपले ४ विकेट लिएका थिए । सन्दीपले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ३ रन खर्चिएर ४ विकेट लिएका थिए । सन्दीपको कसिलो बलिङसामु म्यानमारका ब्याट्सम्यान चलन सकेनन् ।
सन्दीपले म्यानमारका सर्वाधिक रन जोड्ने खेलाडी तथा कप्तान लिन अङलाई पनि पेभेलियन पठाएका थिए ।
सन्दीपले महत्वपूर्ण ४ विकेट लिएपछि म्यानमार १० ओभरमा अलआउट हुँदै २९ रनमा समेटिएको थियो ।
म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
जितसंगै नेपालले २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा मलेसियासंग शनिबार खेल्नेछ ।
यस्तै नेपालले तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।