काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लब र जिल्ला फुटबल संघलाई मासिक रुपमा फुटबल उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको एन्फाको आपतकालिन बैठकले सो निर्णय गरेको हो ।
ए डिभिजन क्लबले लिग अवधिभर प्रत्येक महिना ५ वटा बल प्राप्त गर्नेछन् । त्यस्तै जिल्ला फुटबल संघले प्रत्येक महिना १० वटा बल प्राप्त गर्ने एन्फा प्रवक्ता किरण राईले खेलपाटीलाई बताए ।
अखिल नेपाल फुटबल संघ एन्फामा ४५ जिल्ला आबद्ध छन् । ए डिभिजन लिगमा १४ क्लब छन् ।
एन्फाले अहिले ४५ जिल्लाभरी ग्रासरुट कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
असोज १३ बाट सञ्चालनमा आएको ए डिभिजन लिग दुई खेलपछि स्थगित भएको छ । नेपाली राष्ट्रिय फुटबल टिम बंगबन्धु गोल्डकप खेल्न बङ्गलादेश गएपछि लिग अनिश्चितकालकालागि स्थगित भएको छ ।