एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा युभेन्ट्सले मंगलबार राति योङ ब्वाईजलाई ३ - ० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा पाउल डिबालाले ह्याट्रिक गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो । स्टार स्ट्राइकर क्रिस्टियानोबिना मैदान उत्रेको युभेन्ट्सको जितमा डिबालाले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो एक खेलको प्रतिबन्धको कारण मैदान उत्रन नपाएका हुन् ।
एलिनाज स्टेडियममा खेलको पाँचौ मिनेटमा डिबालाको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा डिबालाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा युभेन्ट्सले ३ - ० को सहज जित हात पार्यो ।
खेलको ७८ औं मिनेटमा मोहमद अलि कमाराले रातो कार्ड पाएपछि योङ अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो ।
योङविरुद्धको जितसंगै समूह 'एच' को युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । युभेन्ट्स समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा युभेन्ट्सले भ्यालेसियालाई हराएको थियो ।
यसै समूहको अर्को खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियासंग गोलरहित बराबरी खेलेको छ ।
बराबरीसंगै युनाइटेड २ खेलबाट ४ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । १ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहदा अंकबिहिन योङ पुछारमा छ ।