काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि फराकिलो लक्ष्य दिएको छ ।
क्रिरा शिख मैदानमा युएईले नेपाललाई २६९ रनको लक्ष्य दिएको हो । युएईले दिएको फराकिलो लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन जोड्दै नेपाललाई फराकिलो लक्ष्य दिएको हो ।
युएईका लागि कप्तान फाहद नवाजले ८३ रन जोड्दा अंश टन्डनले ६७ रनको अर्धशतकीय पारी खेले । दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।
नेपालका नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २/२ विकेट लिए ।
अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आज युएईमाथि जित निकाल्दै सान्त्वना जितको खोजीमा हुनेछ । यता , युएईपनि पहिलो जितको खोजीमा रहनेछन् ।
समूह 'ए' मा रहेको नेपाल र युएईले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । दुवैले अघिल्ला दुई खेल गुमाएको थियो ।
यस समूहबाट भारत र अफगानिस्तान समान ४/४ अंक जोडेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।