काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) बलियो टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशविरुद्ध समूह विजेताको लागि खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुका ६:४५ मा हुनेछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल बंगलादेशलाई हराएर समूह विजेता बन्न चाहन्छ । तर, बलियो बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन छ । जारी प्रतियोगितामा बंगलादेश उपाधि दाबेदार टिम हो ।
नेपाल र बंगलादेशबीचको विजेता टोली समूह 'बि' को विजेता बन्नेछ । पराजित हुने टोली उपविजेता बन्नेछ । यस समूहबाट लगातार दुई खेलमा हार बेहोरेको पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२ - ० ले हराएको थियो । यता, भुटानले पाकिस्तानलाई १७ - ० ले हराएको थियो ।
यस समूहमा नेपाल र बंगलादेशको समान ३/३ अंक छ । गोल अन्तरमा बंगलादेश अघि रहेको छ ।