काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि रक्षाको लक्ष्य सहित बंगबन्धु गोल्डकपको पहिलो खेलमा ताजकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको पहिलो खेलमा नेपालले बलियो टोली ताजकिस्तानलाई प्रतिद्न्दीको रुपमा पाएको हो ।
नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा यसपटक तुलनात्मक रुपमा बलिया टिम रहेकाले उपाधि सम्भावना कठिन हुने बताउछन् । समुह चरणको पहिलो खेलमा ताजकिस्तानविरुद्ध नेपाल अंक जोड्ने लक्ष्य सहित मैदान उत्रने उनको भनाई छ । खेल सिलेटस्थित जिल्ला फुटबल संघको मैदानमा नेपाली समय अनुसार बेलुकी सवाँ ६ बजे सुरु हुनेछ ।
ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौतीपुर्ण छ । फिफा वरीयतामा नेपाल १६० औं स्थानमा छ भने ताजकिस्तान १२० औं स्थानमा रहेको छ ।
नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेका थिए । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमा २–१ हार बेहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले उसैको मैदानमा ३–० ले खेल गुमाएको थियो ।
यस्तै ताजकिस्तानविरुद्ध मैदान उत्रदा नेपाललाई दुई मुख्य खेलाडीको अभाव खड्कने छ । गत महिना साफ च्याम्पियनसिप खेल्दाका दुई खेलाडी किरण चेम्जोङ र रोहित चन्द नेपाली टोलीमा छैनन् ।
किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङलाई टिममा बोलाइएको छ । समूह ’ए’ मा रहेको नेपालले दोस्रो खेलमा अर्को बलियो टिम प्यालेस्टाइनसंग खेल्नेछ । नेपालले गत वर्ष बहराइनलाई ३–० ले हराएर बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।