काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा महिला क्रिकेट अभियन्ता एलबि क्षेत्रीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि महिला क्रिकेटको जिल्ला छनोट गर्नुपर्ने माग राखेका छन् ।
आगामी मङ्सिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निकालेको जिल्ला तयारीको लागि निर्धारण गरेको खल र खेलाडी कोटामा महिला क्रिकेट समावेश नगरेको भन्दै क्षेत्रीले जिल्ला छनोट समावेश गर्न माग गरेका हुन् । आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा हुदैछ ।
पुर्व कप्तान क्षेत्रीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै गर्वित र गरिमामय इतिहास बोकेको महिला क्रिकेटको जिल्ला छनोट प्रतियोगिता समावेश गर्न राखेप, युवा तथा खेलकुद मन्त्रालय र सम्बन्धित योजनाकारलाई ध्यानाकर्षण समेत गराएका छन् । क्षेत्रीले महिला क्रिकेटको छनोट नराख्नु गम्भीर त्रुटी भएको समेत जनाएका छन् ।
'आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला र प्रदेश स्तरीय छनोटको लागि सार्वजनिक गरिएको जिल्ला तयारीको लागि निर्धारण गरिएको खेले र खेलाडी कोटामा महिला क्रिकेटलाई समावेश नहुदा स्तब्ध र दुखित तुल्याएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाली महिला क्रिकेटको गर्वित र गरिमामय इतिहासबारे थाहा नपाई यस खेलको प्रवर्दन र विकास गर्नुको साटो जिल्ला छनोट नराख्नु गम्भीर त्रुटी भएकाले यसलाई अबिलम्ब सच्चाएर महिला क्रिकेटको जिल्ला छनोट सामेल गर्न अनुरोध गर्दछु ।'
यस्तै पुर्व कप्तान क्षेत्रीले यस बिषयमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सिता राना मगर, पुर्व कप्तान नेरी थापा, पुर्व उपकप्तान ममता थापा लगाएतका खेलाडीसंग छलफल गरेको समेत जनाएका छन् । छलफलमा उनीहरुले यस मागमा समर्थन गरेको समेत जनाईएको छ ।