काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले सेन्टर डिफेन्डरको रुपमा भारतीय खेलाडीलाई क्लबमा भित्राएको छ । कमजोर देखिएको डिफेन्सलाई सुधार गर्न मनाङले दक्षिण एसियाली कोटा अन्तरर्गत भारतीय खेलाडीलाई क्लबमा अनुबन्धन गरेको छ ।
भारतीय प्रिमियर डिभिजन क्लब कोलकत्ताबाट खेल्ने मोहमद असिफ सहिद स्मारक ए डिभिजन लिगमा मनाङको जर्सीमा मैदान उत्रने पक्का भएको क्लबका महासचिव मुखिया लामाले बताए ।
असिफको आगमनसंगै मनाङको डिफेन्स लाईनमा सुधार आउने क्लबको अपेक्षा छ । मनाङले उनलाई लिग अवधिभरकालागि अनुबन्धन गरेको हो । खेलाडीलाई दिईएको पारिश्रमिक रकम भने खुलाउन नमिल्ने क्लबले जनाएको छ ।
मनाङले विदेशी खेलाडीको कोटामा ओलावले अफिज र एडिलाजालाई क्लबमा भित्राईसकेको छ । दुवैले फरवार्ड पोजिसनमा खेल्नेछन् ।