काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ ।
क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाउन सक्यो । नेपालका लागि रोहित कुमार पौडेलले ४९ रन जोडपनि टोलीको उच्च स्कोर बन्न सकेन । रोहित मात्र १ रनमा अर्धशतक बनाउन चुकेका थिए ।
यस्तै नेपालका लागि राशिद खानले २९ तथा कप्तान आसिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए । कैस अहमद र अब्दुल रहमानले २/२ विकेट लिए ।
समूह 'ए' मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । अघिल्लो खेलमा भारतसंग १ सय ७१ रनले पराजित नेपाललाई दोस्रो चरणमा पुग्ने अफगानिस्तानलाई जित्नै पर्ने दबाब रेहेको छ ।
अफगानिस्तानविरुद्ध सुखद नतिजा निकाल्न नसके नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना छ । तर, अफगानिस्तानविरुद्ध जित निकाल्न नेपाललाई कठिन भने हुनेछ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरिसकेको छ । अंक तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान २ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका छन् ।
पछिल्ला पाँच ठुला प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । दुई हप्ता अघि भारतमा सम्पन्न चार टोलीबीच भएको यू - १९ एकदिवसीय सिरिजमा नेपालले अफगानिस्तानलाई एक खेलमा हराएको थियो भने एक खेलमा पराजित भएको थियो ।
अफगानिस्तानपछि नेपालले मंगलबार युएईसंग खेल्ने छ ।