एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफुमाथि लागेको बलात्कारको आरोप अस्विकार गरेका छन् । अमेरिकी महिलाले सन् २००९ मा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् ।
रोनाल्डोले भनेका छन्, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफुलाई प्रचार गर्न चाहन्छन् । यो सामान्य हो ।’
रोनाल्डोका वकिलले जर्मनी पत्रिकाविरुद्ध मुद्धा हाल्ने बताएका छन् । सोही पत्रिकाले रोनाल्डोको बलात्कार सम्बन्धित समाचार प्रकाशित गरेको थियो ।
जर्मन पत्रिकाले अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाको दाबी प्रस्तुत गर्दै रोनाल्डोले लास भेगासको एक होटलको कोठामा बलात्कार गरेका थिए ।
घटना लगत्तै मेयार्गाले लास भेगासको पुलिस समक्ष बलात्कारको रिपार्ट दर्ता गरेकी थिईन् । घटना बाहिर नल्याउने शर्तमा उनले रोनाल्डोसंग करिब ४ लाख डलरको सम्झौता समेत गरेकी थिईन् ।
अहिले आएर उनका वकिलले सो सम्झौता रद्ध गर्न माग गरिरहेका छन् । रोनाल्डो यसैसिजन स्पेनिस क्लब रियल मड्रिडबाट करिब सय मिलियन पाउण्डमा ईटालियन क्लब युभेन्ट्समा पुगेका छन् ।