काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (सोमबार) टेष्ट राष्ट्र अफगानिस्तानसंग खेल्दैछ ।
यू-१९ एसिया कपको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले आज साविकको विजेताविरुद्ध खेल्ने लागेको छ । खेल नेपाली समय अनुसार बिहान ८:४५ मा सुरु हुनेछ ।
समूह 'ए' मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । अघिल्लो खेलमा भारतसंग १ सय ७१ रनले पराजित नेपाललाई दोस्रो चरणमा पुग्ने अफगानिस्तानलाई जित्नै पर्ने दबाब रेहेको छ ।
अफगानिस्तानविरुद्ध सुखद नतिजा निकाल्न नसके नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना छ । तर, अफगानिस्तानविरुद्ध जित निकाल्न नेपाललाई कठिन भने हुनेछ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरिसकेको छ । अंक तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान २ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका छन् ।
पछिल्ला पाँच ठुला प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । दुई हप्ता अघि भारतमा सम्पन्न चार टोलीबीच भएको यू - १९ एकदिवसीय सिरिजमा नेपालले अफगानिस्तानलाई एक खेलमा हराएको थियो भने एक खेलमा पराजित भएको थियो ।
अफगानिस्तानपछि नेपालले मंगलबार युएईसंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।