काठमाडौं । करिव पाँच बर्ष पछि सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउदै न्युरोड टिम एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको छ ।
रेफ्रीको गलत निर्णयका कारण अंक बाँड्नु परेको आरोप लगाउनदै एनआरटीले आवश्यक अनुसन्धानकालागि एन्फामा उजुरी गरेको हो । शनिबार भएको उद्घाटन खेलमा फिफा रेफ्री सुदिस पाण्डेको विवादास्पद निर्णयका छानविन गर्न एनआरटीले माग गरेको छ ।
दुई पटक खेलमा अग्रता लिएपनि रेफ्री पाण्डेकै कारण अंक बाँड्नु परेको एनआरटीको गुनासो छ ।
क्लब अध्यक्ष दिपकहर्ष बज्राचार्यले रेफ्रीको निर्णयको बिषयमा आवश्यक छानविन गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गरिएको जानकारी दिए ।
एनआरटीले रेफ्रीले दिएको पेनाल्टी र अन्तिम मिनेटको फ्रिकिकमा असन्तुष्टि व्यक्त गर्दै छानविनको माग गरेको छ ।
एनआरटीले छानविनकालागि निवेदन एन्फा महासचिव ईन्द्रमान तुलाधरलाई बुझाएको छ । ‘एन्फाको निर्णय कहिले आउँछ हेरौ । त्यसपछि रेफ्रीलाई कारबाहि नभए लिग नखेल्ने जानकारी गराउछौ ।’ अध्यक्ष बज्राचार्यले भने ।