एजेन्सी । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा बंगलादेशलाई ३ विकेटले हराएर भारत च्याम्पियन बनेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २२३ रनको लक्ष्य भारतले ५० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । रोमान्चक बनेको खेलमा भारतले अन्तिम बलमा बंगलादेशमाथि जित निकालेको थियो ।
बंगलादेशले दिएको मध्यम लक्ष्यसहित ब्याटिङ गरेको भारतलाई जितका लागि अन्तिम ओभरमा ६ रन चाहिएको थियो । जसमा नायक बने केदार जादब । बलिङमा थिए, बंगलादेशका महमुदुल्लाह ।
अन्तिम ओभरको पहिलो बलमा कुलदिप यादबले १ रन जोडे । दोस्तो बलमा केदारले १ लिदै कुलदिपलाई स्ट्राइक दिए। तेस्रो बलमा २ रन जोडेका कुलदिपले चौथो बलमा एन जोडन सकेनन । पाँचौ बलमा कुलदिपले १ रन जोड्दै स्कोर बराबरी गरे ।
अन्तिम बलमा केदारले लेगबाईको रुपमा १ रन लिंदै भारतलाई उपाधि दिलाए । केदार २३ रनमा अविजित रहदा कुलदिप ५ रनमा अविजित रहे ।
त्यसबाहेक भारतका लागि कप्तान रोहित शर्माले ४८, दिनेश कार्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६ तथा रविन्द्र जडेजाले २३ रन बनाए । बलिङमा बंगलादेशका रुबेल हुसेन र मुस्तफिजुर रहमानले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर ३ बलमा अलआउट हुँदै २२२ रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले १२१ रनको शतकीय इनिङस खेले । त्यस्तै सौम्य सरकारले ३३ रन जोड्दा हसन मिराजले २३ रन बनाए । भारतका कुलदिप यादबले ३ तथा केदार जादबले २ विकेट लिए ।
योसंगै भारतले सातौं पटक एसिया कपको उपाधि जिएको छ । भारत सर्वाधिक धेरै एसिया कप जित्ने राष्ट्र पनि हो । बंगलादेश भने पुन: एसिया कपको उपाधि जित्न बन्चित भएको छ । यसअघि बंगलादेश सन् २०१२ मा पनि उपविजेता बनेको थियो ।