काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एनसेलको ‘स्टार हम्बल हिरो’ मा आबद्द भएका छन् ।
एनसेल प्राईभेट लिमिटेडले शुक्रबारसन्दीपलाई ‘स्टार हम्बल हिरो’ मा दुई बर्षका लागि आबद्ध गरेको हो । एनसेलले सन्दीपलाई 'स्टार हम्बल हिरो' मा आबद्द गर्दै अभियानको औपचारिक घोषणा गरेको थियो ।
एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफुलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्याउने उद्देश्यसहित ‘स्टार हम्बल हिरो’ अभियान सुरु गरेको हो ।
एनसेल सिफलस्थित बाल मन्दिरको बाल संरक्षण गृहको परिसरमा एक कार्यक्रमकाबीच यस अभियान सुरु गरेको हो । कार्यक्रममा सन्दीपले बालबालिकाहरुसंग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।
कार्यक्रममा बोल्दै सन्दीपले यस अभियानले समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास लिएको बताए ।
'देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सराहनीय छ । यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास छ,' सन्दीपले भने ।
कार्यक्रममा एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाउदा हर्षित भएको बताए ।
'सन्दीपको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ,' चोङ्ले भने, 'नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं ।'
एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप यस अभियान तयार गरेको जनाएको छ । त्यस्तै एनसेलले निस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई यस अभियानमा आबद्ध गर्दै जाने समेत बताएको छ ।