काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह 'बी' का लागि नेपाली टोलीमा केहि परिवर्तन हुने बताएका छन् ।
प्रशिक्षक टमटाले खेलपाटीसंग कुरा गर्दै एसिया कप छनोट खेलेका टोलीमा रहेका मध्ये केहि खेलाडी परिवर्तन हुने बताएका हुन् ।
छनोटका लागि अहिले एसिया कप छनोट खेलाडी १४ खेलाडीसहित १८ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।
प्रशिक्षक टमटाले एसिया कप छनोटमा ब्याटिङ पक्षमा कमजोरी देखिएको र मध्ये क्रममा ब्याट्सम्यानमा केहि फेरबदल हुने बताए ।
'हाम्रो ब्याटिङ लाईनमा कहिले काँही समस्या आउने गरेको छ,' प्रशिक्षक टमटाले भने, 'यस पटकको टी–ट्वान्टी विश्वकप एसिया नोटमा केहि फेरबदल हुनेछ । नयाँ अनुहारले अवसर पाउनेछ ।'
प्रशिक्षक टमटाले विकेट किपर र लेग स्पिनरमा पुरानै अनुहार हुने बताए ।
मलेसियामा आयोजना हुने छनोटका लागि नेपाली टोली टियु क्रिकेट मैदानमा अन्तिम तयारी गरिरहेका छन् । नेपाली टोलीको घोषणा केहि दिनमा हुनेछ ।
यस्तै प्रशिक्षक टमटाले छनोटमा नेपालभन्दा कमजोर टिमविरुद्ध पनि बलियो तरिकाले मैदान उत्रने बताए ।
प्रशिक्षक टमटाले भने, 'छनोटमा नेपालभन्दा कमजोर टोलीहरु पनि छन् । तर, क्रिकेट खेल हो, केहि भन्न सकिन्न । त्यसैले सबै टोलीविरुद्ध बलियो तरिकाले प्रस्तुत हुनेछौं ।'
त्यस्तै प्रशिक्षक टमटाले नेपालले टस जितेमा पहिला ब्याटिङ रोज्ने योजना रहेको बताए ।
छनोटमा नेपालले अक्टोबर ३ मा म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्नेछ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ६ टोलीले खेल्नेछन् ।