काठमाडौं । आगामी कार्तिकमा दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको हस्पिटालिटी पार्टनर ओयो हुने भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शुक्रबार ओयोसंग एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा एक बर्षे सम्झौता गरेको छ । ओयोका कन्ट्री प्रमुख निसिद हलानी र क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
'ओयो' होटलहरुको मल्टिनेसनल कम्पनी हो । ओयोलाई दक्षिण एसियाकै ठुलो हस्पिटालिटी कम्पनीको रुपमा चिनिन्छ ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
सबै टोलीले आफ्नो मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।