काठमाडौं । खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अन्तिम चेकअपकालागि आज बैंकक गएका छन् ।
विगत ७ महिनादेखि नेपालमै उपचार गराईरहेको बिक्रम अन्तिम चेकजाँचकालागि बैंकक उडेका हुन् । गत बर्ष बुढासुब्बा गोल्डकपको फाईनलमा पुलिसका तेज तामाङसंग ठोक्किएपछि बिक्रमको खुट्टा भाँचिएको थियो ।
लगत्तै काठमाडौंको ग्रान्डी अस्पतालमा डा चक्रराज पाण्डे सहितको टिमले बिक्रमको सफल चोटको सफल शल्यक्रिया गरेको थियो । गत साता काठमाडौंमा एक्स रे गरेर हेर्दा बिक्रमको खुट्टा पहिलेकै अवस्था जस्तो निको भएको देखिएको थियो ।
'अब प्रतिस्पर्धात्मक खेल खेल्न सकिने अवस्था कस्तो छ भन्ने बिषयमा चेकजाँच गर्न बैंकक जान लागेको हुँ ।' बिक्रमले खेलपाटीसंग भने ।
उनले बैंकको सिटी हस्पिटलमा चेकजाँच गर्नेछन् । करिब एक साता उनी नेपाल फर्कनेछन् । उनको क्लब रुस्लान थ्रीस्टारले अहिले ए डिभिजन लिगको अन्तिम तयारी गरिरहेको छ ।