एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटको फाइनल खेल आज (शुक्रबार) साँझ हुँदैछ । फाइनलमा भिड्दै छन्, साबिकको विजेता भारत र बंगलादेश ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, फाइनलका लागि मैदान उत्रदा दुवै टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहनेछ ।
एसिया कपको सुपर चारमा भारत विजेता बन्दै फाइनलमा पुगेको हो । भारतले ३ खेलमा लगातार दुई जित र एक बराबरी खेलेको थियो । यता, बंगलादेशले दुई खेलमा जित निकाल्दा एक खेलमा हार बेहोरेको थियो । बंगलादेश सुपर चारको पहिलो खेलमै भारतसंग पराजित भएको थियो ।
निकै उत्कृष्ट प्रदर्शन गरिरहेको भारत सातौं पटक एसिया च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । भारत सर्वाधिक धेरै एसिया कप जित्ने राष्ट्र पनि हो । भारत आफ्नो दबदबा कायम राख्न चाहन्छ ।
बंगलादेश पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । सन् २०१२ मा उपविजेता बनेको बंगलादेश इतिहास रच्ने योजनामा हुनेछ । यस्तै बंगलादेश सुपर चारमा भारतसंग बेहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ । भारतको दबदबा समाप्त गर्ने बंगलादेशका लागि यो सुनौलो अवसर समेत रहनेछ ।
भारत र बंगलादेशबीचको पछिल्लो पाँच भेटमा भारत बलियो देखिएको छ । तीन खेलमा भारतले जितेको छ भने दुई खेल बंगलादेशले जितेको छ ।