काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली यू-१८ महिला टोलीले शुक्रबार पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले शुक्रबार साँझ पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै आफ्नो दाबेदार प्रस्तुत गर्ने लक्ष्यमा रहने छ । प्रतियोगिता अघि बिहिबार प्रि म्याच कन्फरेन्सले बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टिमको तयारी राम्रो रहेको बताउदै बलियो टोलीविरुद्ध कडा टक्कर दिने बताए ।
'हाम्रो तयारी साढे दुई महिनाबाट भएको थियो । साफको लागि टिम तयारी राम्रो भएको छ । छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने र महिला राष्ट्रिय लिगबाट छनोट भएका खेलाडी छन्', प्रशिक्षक श्रेष्ठले भने ।
समूह 'बि' मा रहेको नेपालले आगामी मंगलबार बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रशिक्षक श्रेष्ठले नेपाल कठिन समूहमा रहेको भएपनि मैदानमा प्रमाणित गर्ने बताए । नेपाली टोलीले नेपालमा राष्ट्रिय टोलीका खेलाडीसंग मैत्रीपूर्ण खेल खेलेको जसमा टोलीले उच्च प्रदर्शन गरेको बताउदै प्रशिक्षक श्रेष्ठले थपे, 'समग्रमा हेर्दा भारत बलियो टिम देखिएको छ । तर, हामी कठिन टिमलाई टक्कर दिनेछौं । कुन बलियो भन्ने कुरा हामी मैदानमा प्रमाणित गर्नेछौं ।'
यस्तै नेपाली टोलीका कप्तान सरु लिम्बुले नेपालले साफको उपाधि जितेर घर फर्कने बताइन् ।
'टिमको तयारी धेरै राम्रो छ । हामीले शतप्रतिशत खेल्नेछौ,' कप्तान लिम्बुले भनिन्, 'हामी उपाधि जितेर फर्कनेछौं ।'
नेपाली टोलि :
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई
डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर
मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
प्रशिक्षक : हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक : प्रकास बैद्य
गोलकिपर प्रशिक्षक : अस्मिता खवास