काठमाडौं । करिब चार बर्षपछि हुन लागेको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल शनिबार सुरु हुँदैछ ।
लिगको उद्घाटन खेलमा न्युराेड टिम एनअारटी र विभागीय टोली त्रिभुवन अार्मी क्लबले प्रतिस्पर्धा गर्दैछन् । र,अखिल नेपाल फुटबल संघले 'ए' डिभिजन लिगका लागि टिकट मूल्य तोकेको छ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने लिगको टिकट मूल्य निर्धारण गरेको हो ।
एन्फाको अनुसार लिगको सामान्य प्याराफिटतर्फ २ सय टिकट मूल्य राखिएको छ । यस्तै भीआईपी प्याराफिटको टिकट मूल्य ५ सय राखेको छ । हल्चोक मैदानको टिकट मुल्य भने २ सय मात्र रहने छ ।
एन्फाले सातदोबाटोमा एन्फा कम्प्लेक्समा २५ सय दर्शक अटाउने गरी तयारी गरिरहेको समेत जनाएको छ । यस्तै एन्फामा ११ सय दर्शक अटाउने गरी अस्थाई प्याराफिट निर्माण गर्न लागेको जनाएको छ ।
लिगको पहिलो दिन एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । अपरान्ह ३ बजे सुरु हुने खेलअघि भव्य सांगीतिक प्रस्तुति दिईने एन्फाले जनाएको छ । सांगीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।
त्यस्तै लिगको दोस्रो खेलमा आइतबार संकटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि लिग अनिश्चित समयको लागि रोकिने एन्फाले जनाएको छ । त्यसपछिका खेलहरु अर्को सूचना निकालेर आयोजना गर्ने एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने कारण लिग केहि समय स्थगित हुने एन्फाले जनाएको छ ।
रेलिगेसन नहुने लिग माघ १६ सम्म हुनेछ । लिगमा १४ 'ए' डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।
लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।
त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।