एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना लेगानेससंग २ - १ ले पराजित भएको हो ।
लेगानेसको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सिजनको पहिलो हार चाखेको छ । पहिलो हाफमा १ - ० ले बनाएको अग्रता बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन ।
खेलको १२ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर,दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गर्दै लेगानेसले उत्कृष्ट पुनरागमन जित निकाल्यो ।
खेलको ५२ औं मिनेटमा लेगानेसका नबिल एल जहरले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेट नबित्दै ५३ औं मिनेटमा ओस्कारले एक गोल गरेपछि लेगानेससंग बार्सिलोना २ -१ ले स्तब्ध बन्यो ।
लेगानेससंग पराजित भएपनि बार्सिलोनाले शीर्ष स्थान कायम राखेको छ । बार्सिलोनाले ६ खेलबाट १३ अंक जोडेको छ । जितसंगै लेगानेसले ४ अंक जोड्न सफल भएको छ ।