एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी चेल्सीसंग पराजित हुँदै लिभरपुल काराबाओ (इएफएल) कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।
बुधबार राति लिभरपुल घरेलु मैदानमा चेल्सीसंग २ - १ ले पराजित भएको हो । चेल्सीले एक गोलको अग्रता उल्टाएर लिभरपुललाई हराएको हो ।
एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले सुरुवाती अग्रता बनायो ।
खेलको ५९ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
तर, ७९ औं मिनेटमा एमर्सनले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि नायक बने इडेन हाजार्ड ।
खेलको ८६ औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
यो हारसंगै यस सिजन लिभरपुलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
लिभरपुल सबैखाले प्रतियोगितामा पछिल्लो ७ खेलमा अपराजित रहेको थियो ।