काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-१८ महिला टोली भुटान प्रस्थान गरेका छन् ।
च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ३४ सदसीय नेपाली टोली बुधबार अपरान्ह भुटान प्रस्थान गरेको हो ।
च्याम्पियनसिप आगामी शुक्रबारबाट थिम्पुमा सुरु हुँदैछ । र, नेपालले च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ ।
भुटान प्रस्थान गर्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टोलीको तयारी उत्कृष्ट रहेको कारण साफको उपाधि हात पारेर स्वदेश फर्कने बताए ।
'राम्रो तयारी भएको छ । राष्ट्रिय टिमको तयारी डेढ महिनादेखि भएको छ,' प्रशिक्षक श्रेष्ठले भने, 'देश भरीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टिममा छ । कतिपय खेलाडी राष्ट्रिय टोलीबाट खेलेका खेलाडी छन् । हामी सहभागिता जनाउन मात्र जाने छैनौं । हाम्रो लक्ष्य उपाधि जितेरै आउने रहेको छ ।'
समूह 'बि' मा रहेको नेपालले शुक्रबार पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रशिक्षक श्रेष्ठले नेपालको समूहमा बंगलादेश कठिन प्रतिद्वन्द्वी रहेको भएपनि नेपालले दुवै टोलीलाई हराउन सक्ने बताए । यस्तै प्रशिक्षक श्रेष्ठले नेपालको बलियो पक्ष स्ट्राइकर पंक्ति रहेको बताए ।
यस्तै नेपाली टोलीका कप्तान सरु लिम्बुले नेपालको लक्ष्य साफको उपाधि जित्नु नै रहेको बताइन् । विगत २ महिनाबाट टिमको तयारी गरिरहेकाले आफुहरु साफ च्याम्पियन भएर फर्किने कप्तान सरुले बताइन् ।
'टिमको तयारी राम्रो छ । हाम्रो पाकिस्तान भन्दा बंगलादेश कठिन प्रतिद्वन्द्वी हो,' कप्तान लिम्बुले भनिन्, 'आशा छ हामीले उपाधि जित्ने छौ ।'
नेपाली टोलि :
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई
डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर
मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
प्रशिक्षक : हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक : प्रकास बैद्य
गोलकिपर प्रशिक्षक : अस्मिता खवास