एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिख बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा वायर्न अग्सवर्गसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
अघिल्ला चार खेलमा लगातार जित निकालेको वायर्न घरेलु मैदानमै बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि जोगाउन नसक्दा वायर्नले एक अंकमा चित्त बुझायो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा आर्जेन रोबिनले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको अन्तिम केहि मिनेट वायर्न सम्हालिन सकेन । खेलको ८६ औं मिनेटमा अग्सवर्गका फेलिक्स गोट्जेले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
यो बराबरीसंगै शीर्ष स्थानको वायर्नले ५ खेलबाट १३ अंक जोडेको छ । अग्सवर्गको पाँच खेलबाट ५ अंक छ ।