एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महेन्द्र सिहं धोनीको कप्तानीमा रहेको भारतले अफगानिस्तानसंग बराबरी खेल्दै अंक बाडेको हो ।
अफगानिस्तानसंग बराबरी खेलेपनि भारत सुपर चारको विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । भारतले सुपर चार ३ खेलमा ५ अंक जोड्यो । भारतले अब पाकिस्तान र बंगलादेशमध्ये एक टोलीसंग फाइनलमा खेल्नेछ ।
पाकिस्तान र बंगलादेशले सुपर चारको अन्तिम खेलमा बुधबार खेल्दैछ । समान २/२ अंक जोडेको दुई टोलीबीचको बिजेताले फाइनलमा भारतसंग खेल्नेछ । अफगानिस्तान १ अंक जोडेर सुपर चारबाट बाहिरियो ।
अफगानिस्तानले दिएको २५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ४९ ओभर ५ बलमा अलआउट हुँदै २५२ रन जोडेपछि खेल बराबरी भएको हो ।
भारतका लोकेस राहुलले ६० तथा अम्बाती रायडुले ५७ रनको अर्धसतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्यस्तै दिनेश कार्तिकले ४४ रन जोड्दा कप्तान धोनीले ८ रन बनाए । अफगानिस्तानविरुद्ध कप्तानी गर्दै धोनीले भारतबाट करियरको २ सयौं एकदिवसीय खेलमा कप्तानी पुरा गरे ।
भारतविरुद्ध ऐतिहासिक बराबरी खेल्न अफगानिस्तानका अफ्ताब आलम, मोहमद नाबी र राशिद खानले सान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेको थियो । अफगानिस्तानका मोहमद शाहजादले १२४ रनको शतकीय इनिङस खेले ।
शतकसंगै शाहजाद भारतविरुद्ध शतक हान्ने पहिलो अफगानी खेलाडी बने । यस्तै अफगानिस्तानका मोहमद नाबीले ६० रनको अर्धशतकीय इनिङस खेले ।
भारतका रविन्द्र जडेजाले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।