एजेन्सी । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड काराबाओ कप (इएफएल) फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । मंगलबार राति दोस्रो डिभिजनको क्लब डर्बी काउन्टीसंग पेनाल्टी सुटआउटमा ८ - ७ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
ओल्ड ट्राफोर्डमा १० खेलाडीमा सिमित घरेलु टोलीविरुद्ध काउन्टीले निर्धारित र थप गरिएको समयमा २ - २ गोलको बराबरी खेलेको थियो । तर, पेनाल्टी सुटआउटमा चेल्सीका पुर्व स्टार फ्रान्क लाम्पार्टको टिम काउन्टीले बाजी मार्यो । पेनाल्टी सुटआउटमा च्याम्पियनसिप क्लब काउन्टीका गोलकिपर स्कट कार्सनले युनाइटेडका फिल जोन्सको प्रहार बचाएका थिए ।
यसअघि पहिलो हाफको तेस्रो मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै काउन्टीलाई खेलमा फर्काए ।
खेलको ६७ औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । युनाइटेडका किपर सर्जियो रोमेरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा काउन्टीले उठायो ।
८६ औं मिनेटमा काउन्टीका ज्याक मार्रीओटले गोल गर्दै युनाइटेडविरुद्ध २ - १ को अग्रता बनाए । तर, खेलको इन्जुरी समयमा युनाइटेडका माउरीनो फेल्लानीले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याएका थिए ।
युनाइटेडविरुद्धको जितसंगै काउन्टी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।