काठमाडौं । बंगलादेशमा आयोजना हुने पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको लागि नेपालले तयारी सुरु गरेको छ । साबिकको विजेता नेपालले प्रतियोगिताको लागि मंगलबारबाट तयारी सुरु गरेको हो ।
नेपालले अपरान्ह हल्चोकस्थित सशत्र प्रहरी बलको एपीएफ क्लबको मैदानमा प्रशिक्षण गरेको थियो । तर, पहिलो दिनको प्रशिक्षणमा ९ खेलाडी मात्र उपस्थित भए ।
बिमल घर्ति मगर, आदित्य चौधरी, दिनेश राजवंशी, तेज तामाङ, नवयुग श्रेष्ठ,निराजन खड्का, एलेन न्यौपाने, सुनिल बल र अनन्त तामाङ अभ्यासमा उपस्थित भएका थिए ।
अन्य खेलाडी क्लबको तयारीमा व्यस्त भएकाले पहिलो दिनको अभ्यासमा सामेल भएनन् । अहिले क्लबहरु पल्सर सहिद स्मारक 'ए' डिभिजनका लागि आफै तयारी गरिरहेका छन् ।
यससंकरणको बंगबन्धुमा दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाली टोलीमा साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । जसमा दुई खेलाडी मात्र परिवर्तन भएका छन् । नेपाली टोलीमा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द उपस्थित हुने छैनन् ।
समूह 'ए' मा रहेको नेपालले ताजकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहेको प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।