काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बंगलादेशमा आयोजना हुने बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको बताएका छन् ।
छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वी रहेको समूहमा रहेको कारण नेपालले यस पटक दोस्रो चरण पुग्ने लक्ष्य लिएको प्रशिक्षक महर्जनले बताए ।
'हामीलाई यसपटक पहिलेको तुलनामा चुनौती छ । हाम्रो समूहमा कठिन टिमहरु छन् । हाम्रो तयारी पनि राम्रो छैन,' प्रशिक्षक महर्जनले भने, 'गत बर्षको विजेताको हैसियतले हामीले जसरी पनि दोस्रो चरणमा पुग्ने लक्ष्य बनाएका छौं ।'
तर, प्रशिक्षक महर्जनले यसपटकको उपाधि रक्षा गर्न प्रयास गर्ने बताए । 'यसपटक एकदमै गार्हो छ । तर, उपाधि जित्ने प्रयास गर्नेछौं,' प्रशिक्षक महर्जनले भने ।
पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल आगामी अक्टोबर पहिलो साताबाट हुँदैछ । साबिकको विजेता नेपालले यस संस्करणमा समेत प्रतिस्पर्धा गर्दैछ ।
समूह 'ए' मा रहेको नेपालले ताजकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहेको प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टोलीमा साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । जसमा दुई खेलाडी मात्र परिवर्तन भएका छन् । नेपाली टोलीमा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द उपस्थित हुने छैनन् ।
तर, प्रशिक्षक महर्जनले दुई खेलाडीको अनुपस्थितिले टिमलाई असर भने नगर्ने बताए । प्रशिक्षक महर्जनले भने,'सिनियर र प्रोफेसनल हिसाबले फरक पार्छ । तर, असर भने गर्दैन । हामीले वैकल्पिक समेत हेर्नुपर्छ । अन्य खेलाडी पनि योग्य छन् ।'
यस्तै प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको प्रदर्शनबारे समिक्षा भएको र कमीकमजोरी सुधार गरेर लैजाने बताए ।