काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले बंगबन्धु गोल्डकपको तयारी आज सुरु गर्दैछ । अर्को साता बंगलादेशमा सुरु हुने प्रतियोगिताकालागि नेपाली टिमले आज दिउँसोबाट अभ्यास सुरु गर्न लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिमको तयारी दिउँसो साढे २ बजे काठमाडौंको हल्चोकस्थित एपीएफको मैदानमा सुरु हुने बताएको छ ।
एन्फाका अनुसार दैनिक दुई घण्टा नेपाली टिमले संयुक्त प्रशिक्षणमा भाग लिनेछन् ।
नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडी अहिले ए डिभिजन लिगको तयारीमा छन् । प्राय सबै खेलाडीले क्लबमा रहेर दैनिक प्रशिक्षण गरिरहेका छन् ।
‘बिहानको समयमा क्लब र दिउँसोको समयमा हल्चोकमा प्रशिक्षणको व्यवस्था मिलाएका छौ ।’ एन्फाका एक पदाधिकारीले भने ।
नेपालले साफ खेलेको टिमलाईनै बंगबन्धु गोल्डकपमा दोहोर्याउने भएको छ । नेपालका दुई अन्तराष्ट्रिय खेलाडी रोहित चन्द र किरण चेम्जोङले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।
रोहितको स्थानमा तेज तामाङ र किरणको स्थानमा बिशाल श्रेष्ठले लिनेछन् ।
नेपाली टिम आगामी सेप्टेम्बर ३० मा बंगलादेश प्रस्थान गर्नेछ ।