एजेन्सी । क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वको उत्कृष्ट खेलाडी बन्दै 'फिफा वर्ष खेलाडी' घोषित भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको अवार्डमा वर्ष खेलाडी घोषित हुँदै मोड्रिचले 'फिफा द बेष्ट' अवार्ड जितेका हुन् ।
मोड्रिचले साबिकको विजेता क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारे । मोड्रिचले पहिलोपटक यो अवार्ड जितेका हुन् ।
यससंगै मोड्रिचले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेस्सीले राख्दै आएको अधिपत्य तोडेका छन् । सन् २००७ यता यस अवार्डमा रोनाल्डो र मेस्सीले पालैपालो जित्दै आएका थिए । रोनाल्डो र मेस्सीले समान ५/५ पटक यो अवार्ड जितेका छन् ।
इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको थियो । मोड्रिचलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरे ।
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी' ओर अवार्डबाट छुट्टिएर दुई बर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।
फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पुरा भएको बताए । मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको समेत बताए ।
'यो ट्रफी केवल मेरो मात्र होइन, यो मेरो सबै रियल मड्रिड टिमका साथीहरु र क्रोएसिया टिमका साथी र प्रशिक्षकको हो । जोसंगै मैले खेले,' ३३ बर्षिय मोड्रिचले भने, ' उहाँहरु बिना यो सम्भव छैन । उहाँहरुलाई धन्यवाद ।'
मोड्रिचले रुस विश्वकपमा गरेको प्रदर्शनले क्रोएसियाको अर्को पुस्ताको लागि राम्रो हुने समेत बताए । मोड्रिचले भने, ' रुसमा हामीले उत्कृष्ट प्रदर्शन गर्न सक्यौ । आशा छ कि यसले अर्को पुस्तालाई राम्रो हुनेछ । मेहनत, समर्पण र विश्वासको साथ अघि बढ्दा राम्रो हुने यो पुरस्कारले देखाएको छ । सबै सपनाहरू सत्य हुन सक्दछ ।'
रियल मड्रिडका प्ले मेकर मोड्रिच गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा महत्वपूर्ण खेलाडी थिए । उनको प्रेरणादायी भूमिकाका कारण क्रोएसियाले पहिलोपटक विश्वकपको फाइनल यात्रा गरेको थियो । यस्तै रुस विश्वकप उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए । मोड्रिच यसै वर्ष युरोपियन वर्ष खेलाडी घोषित भएका थिए ।